hello

आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदै

May 2026

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस आज विभिन्न कार्यक्रम सहित विश्वभर मनाइँदैछ। इन्टरनेट तथा सूचना–सञ्चार प्रविधिको प्रयोगमार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे जनचेतना फैलाउने तथा डिजिटल पहुँचमा रहेको असमानता कम गर्ने उद्देश्यले हरेक वर्ष मे १७ मा यो दिवस मनाउने गरिन्छ।

दिवसले विशेषगरी सूचना तथा सञ्चार प्रविधिमा सबै नागरिकको समान पहुँच आवश्यक रहेको विषयलाई प्राथमिकतामा राख्ने गरेको छ। इन्टरनेट, कम्प्युटर, स्मार्टफोन लगायत प्रविधिको प्रयोगमा पहुँच भएका र पहुँचबाट वञ्चित समुदायबीचको अन्तरलाई ‘डिजिटल विभाजन’का रूपमा लिइन्छ। शहर तथा विकसित क्षेत्रमा रहेका नागरिकले सहज रूपमा डिजिटल सेवा प्रयोग गर्न पाउँदा दुर्गम तथा पिछडिएका क्षेत्रका मानिस त्यसबाट टाढा रहनु अहिलेको प्रमुख चुनौतीका रूपमा देखिएको छ।

विश्व दूरसञ्चार दिवस सन् १९६९ देखि मनाउन शुरु गरिएको हो। अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको स्थापना तथा सन् १८६५ मा पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ महासन्धिमा हस्ताक्षर भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो। पछि सन् १९७३ मा स्पेनको मालागा–टोरेमोलिनोसमा सम्पन्न पूर्णाधिकार सम्मेलनले यस दिवसलाई औपचारिक मान्यता दिएको थियो।

यसैबीच सूचना समाजसम्बन्धी विश्व शिखर सम्मेलनको सिफारिसपछि संयुक्त राष्ट्रसङ्घले सन् २००६ देखि मे १७ लाई ‘विश्व सूचना समाज दिवस’का रूपमा समेत मनाउने निर्णय गरेको थियो। त्यसयता प्रविधिको महत्व, डिजिटल शिक्षा, सूचना पहुँच तथा आधुनिक सञ्चार प्रणालीबारे विश्वव्यापी रूपमा जनचेतना फैलाउने उद्देश्यसहित दिवस मनाउने गरिएको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार यो दिवसको मुख्य उद्देश्य इन्टरनेट तथा सूचना–सञ्चार प्रविधिको प्रभावकारी प्रयोगमार्फत समाज र अर्थतन्त्रमा सिर्जना हुने अवसरबारे जागरण फैलाउनुका साथै सबै नागरिकलाई डिजिटल पहुँचसँग जोड्ने वातावरण निर्माण गर्नु हो।

hello