एसईई आइडलका फाइनलिस्ट टुंगिए, जेठ ७ मा फाइनल हुने
May 2026

धनगढी: सुदूरपश्चिम प्रदेशस्तरीय गायन प्रतियोगिता ‘एरिस्टो एसईई आइडल’ को पाँचौँ संस्करणअन्तर्गत फाइनलमा पुग्ने प्रतिस्पर्धीहरूको टुंगो लागेको छ।
एरिस्टो इङ्लिस बोर्डिङ स्कूलकी प्रबन्ध निर्देशक शान्ति अधिकारीले फाइनलिस्टहरूको नामावली सार्वजनिक गरेकी हुन्।प्रभात मिडिया एण्ड इभेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताका लागि २०८२ असोजदेखि सुदूरपश्चिमका विभिन्न विद्यालयहरूमा अडिसन गरिएको थियो।
प्रारम्भिक चरणबाट छनोट भएका उत्कृष्ट ४० जना प्रतिस्पर्धीबीच वैशाख १८ गते धनगढीस्थित ओम प्यालेसमा प्रतिस्पर्धा गराइएको थियो।
सेमिफाइनल चरणको अनलाइन भोटिङ वैशाख २५ गतेसम्म सञ्चालन गरिएकोमा आज नतिजा सार्वजनिक गर्दै उत्कृष्ट २० जना प्रतिस्पर्धी फाइनलमा प्रवेश गरेको आयोजकले जनाएको छ।
अब ती २० जना प्रतिभाबीच जेठ ७ गते भव्य फाइनलमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः नगद ७५ हजार र ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।
साथै कक्षा ११ र १२ अध्ययनका लागि पूर्ण छात्रवृत्ति तथा म्युजिक भिडियोमा गायन गर्ने अवसरसमेत प्रदान गरिने आयोजकले जनाएको छ।