hello

फिल्म ‘मितज्यू’ टिमले मलाई ८ वर्ष पर्खियो: दयाहाङ राई

May 2026

काठमाडौँ : अभिनेता दयाहाङ राईले फिल्म ‘मितज्यू’ टिमले आफ्ना लागि ८ वर्ष पर्खिएको बताएका छन् । फिल्मको स्क्रिप्ट ८ वर्ष अगाडि पाएपनि समय अभावको कारण अभिनय गर्न नसकेको उनको भनाइ थियो ।

‘फिल्मको स्क्रिप्ट साढे ८ वर्षअघि नै हात पारेको थियो । निर्माता जनक घर्ती मगर र निर्देशक अनिल मगरले त्यतिबेलै यो कथा सुनाएका थिए’, दयाहाङले भने ‘कथा मन परेर पनि समयको अभाव, कोभिड महामारी र अन्य प्राविधिक कारणले फिल्म निर्माणमा ढिलाइ भयो ।’ फिल्ममा राईले आफूलाई सधैं देखिरहेको पात्रभन्दा फरक रूपमा प्रस्तुत हुने सुनाए । फिल्म पुरानो नेपाली संस्कृति ‘मित’ लगाउने परम्परा र सम्बन्धको कथामा आधारित छ ।

‘फिल्ममा सवारी चालकको भूमिकामा छु । मेरो पात्रको आफ्नै पारिवारिक पृष्ठभूमि र विगत छ। गाडी चलाउने पेसाको दौडधुप र पारिवारिक जिम्मेवारीबिचको द्वन्द्वलाई मैले प्रस्तुत गर्ने प्रयास गरेको छु’, दयाहाङले भने, ‘यस पटक दर्शकले मभन्दा नितान्त फरक र गहिरो मनोविज्ञान भएको पात्र पाउनुहुनेछ।’ ‘मितज्यू’ले नेपाली समाजबाट हराउँदै जान थालेको मितेरी साइनोलाई पुनः स्मरण गराउन खोजेको उनले बताए । फिल्ममा दयाहाङ राई र सौगात मल्लको जोडीलाई पुनः एकपटक देख्न पाइनेछ । फिल्मले गाउँदेखि सहरसम्मको यात्रा र सम्बन्धको मर्मलाई पर्दामा उतारेको छ ।

hello