hello

झापा जिल्ला अदालतमा सेवाग्राहीसँग ‘मिट द जज’ कार्यक्रम सम्पन्न

May 2026

भद्रपुर । झापा जिल्ला अदालत मा ‘मिट द जज’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अदालतका माननीय प्रमुख न्यायाधीश उमेशप्रसाद लुईटेल सँग अदालतका सेवाग्राही तथा सरोकारवालाहरूले प्रत्यक्ष भेटघाट गरेका हुन्।

कार्यक्रममा अदालतबाट प्रवाह हुने सेवाबारे सेवाग्राहीसँग प्रत्यक्ष प्रतिक्रिया लिइएको थियो। “सेवा प्रवाह कस्तो पाउनुभएको छ?” भन्ने प्रमुख न्यायाधीशको जिज्ञासामा सहभागीहरूले आफ्ना अनुभव, धारणा तथा सुझाव राखेका थिए।

डिल्लीराम प्रसाई का अनुसार अदालतबाट प्रदान गरिने सेवा, उपलब्ध सुविधा, कर्मचारीको व्यवहार, सेवा प्रवाहमा निष्पक्षता तथा अनियमितताको अवस्थाबारे सेवाग्राहीसँग प्रत्यक्ष संवाद गरिएको हो। उहाँले सेवाग्राहीको अपेक्षा सम्बोधन हुने गरी कार्य सम्पादन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अदालतको रणनीतिक योजना अनुसार न्यायिक प्रक्रियामा नागरिकको पहुँच बढाउने, सेवा प्रवाहलाई थप जनमैत्री बनाउने तथा सुधार गर्ने उद्देश्यले “न्यायाधीश भेटघाट” कार्यक्रम सञ्चालन गरिएको अदालतले जनाएको छ। कार्यक्रममा सेवाग्राहीले अदालतबाट प्राप्त सेवा तथा अपेक्षाबारे आफ्ना धारणा राखेका थिए।

अदालत प्रशासनका अनुसार न्यायाधीश भेटघाट कार्यक्रममा विचाराधीन मुद्दाको हार–जितबारे छलफल नगरिने, बरु मुद्दाको कामकारबाही, सेवा प्रवाहमा भएका असन्तुष्टि तथा गुनासाहरू न्यायाधीशले प्रत्यक्ष सुन्ने व्यवस्था गरिएको छ।

अदालतसम्बन्धी जानकारी वा गुनासोका लागि अदालतको आधिकारिक वेबसाइट मार्फत सम्पर्क गर्न सकिने अदालत प्रशासनले जनाएको छ।

कार्यक्रममा ४० भन्दा बढी सरोकारवालाहरूको सहभागिता रहेको थियो। साथै गौरादह गाउँपालिकाका न्यायिक समिति सदस्य तथा मेलमिलापकर्तासँग अन्तरक्रिया समेत गरिएको थियो।

उक्त कार्यक्रममा गौरादह गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक पुजन न्यौपाने कुँवर र अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेत लगायतको उपस्थिति रहेको थियो।

hello