hello

कसरी बढाउने पुँजीगत खर्च? बिजमाण्डू प्रि-बजेट कन्फरेन्समा केनिची योकोयामाको कि नोट स्पिच

May 2026

बिजमाण्डू प्रि-बजेट कन्फरेन्सको तेस्रो संस्करणमा अर्थशास्त्री केनिची योकोयामाले कि-नोट स्पिच दिने भएका छन्।

बिहीबार आयोजना हुन लागेको बिजमाण्डूको फ्ल्यागसिप कार्यक्रम ‘बिजमाण्डू प्रि-बजेट कन्फरेन्समा’ नेपालमा एडीबी कार्यालय हाँकिसकेका योकोयामाले दक्षिण एसियामा आफूले गरेको अनुभवलाई आधार बनाएर प्रवचन दिने छन्।

नेपाल, भारत र दक्षिण एसियामा आफ्नो अनुभवका आधारमा समग्र नेपालको र विशेषगरी काठमाडौंको पुँजीगत खर्च बढाउने सम्भावनाहरुबारे उनले बोल्नेछन्। नेपालको पुँजीगत खर्चलाई तीव्रता दिन र विकासका कार्यहरुलाई प्रभावकारी बनाउन उनले आफ्ना विचारहरु साझा गर्नेछन्।

योकोयामा एसियाली विकास बैंक (एडीबी) को दक्षिण एसिया विभागका पूर्व महानिर्देशक हुन्। सन् २०२० को मे महिनाबाट सन् २०२३ डिसेम्बरसम्म उनले दक्षिण एसिया विभागको महानिर्देशकको रुपमा काम गरेका थिए।

त्यसक्रममा योकोयामाले दक्षिण एसियाली क्षेत्रका ९ वटा क्षेत्रगत विभाग र ६ वटा राष्ट्रिय कार्यालयहरुको नेतृत्व गरेका थिए। साथै क्षेत्रीय सहयोगका विषयहरुलाई प्राथमिकताका साथ हेरेका थिए। ६ वटा देशहरुमा बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंका पर्दछन्।

सन् १९९९ मा एडीबीमा प्रवेश गरेका योकोयामाले विभिन्न समयमा विविध जिम्मेवारीहरु सम्हाले। एडिबीमा आफ्नो करियरको सुरुवाती चरणमा उनी दक्षिण एसियाको जलस्रोत क्षेत्रको आयोजना संचालनमा संलग्न थिए।

सन् २०१२ देखि २०१७ को बीचमा उनले नेपाल आवासीय नियोगको देशीय निर्देशक थिए। सन् २०१७ मा उनलाई भारत आवासीय नियोगको देशीय निर्देशक नियुक्त गरिएको थियो। उनले त्यहाँ अप्रिल २०२० सम्म काम गरे।

सन् २०१२ देखि २०१७ सम्म नेपालका लागि एडीबीको को देशीय निर्देशकको रुपमा रहँदा उनले नेपालमा पूर्वाधार विकास, जलस्रोत व्यवस्थापन, ऊर्जा, यातायात तथा ग्रामीण विकासका परियोजनालाई प्राथमिकता दिएका थिए। उनको नेतृत्वमा एडीबीले नेपालमा विद्युत् पहुँच विस्तार, सडक संजाल सुधार, तथा जलविद्युत् आयोजनाहरुमा लगानी बढाएको थियो।

साथै, आफ्नो कार्यकालमा उनले नेपालको दिगो आर्थिक विकास तथा गरिबी निवारणमा महत्त्वपूर्ण सहयोग पुर्‍याएका थिए। उनले नेपाली सरकारसँगको सहकार्यलाई प्रगाढ बनाउँदै एडीबीको रणनीतिक सहायता कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग गरेका थिए।

एडीबीमा प्रवेश गर्नुअघि उनले १६ वर्ष जापान सरकारको सेवा गरेका थिए। उनले अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयबाट कृषि अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। जापानको इवाटे विश्वविद्यालयबाट कृषि इन्जिनियरिङमा स्नातक तहको शिक्षा हासिल गरेका छन्।

उनले सन् २०२४ मा रविन्द्र पी वस्तीसँग एसिया र प्रशान्त क्षेत्रमा जलवायु परिवर्तनका जोखिमहरुलाई सम्बोधन गर्न गरेको थिए।

उनीहरुले एसिया र प्रशान्त क्षेत्र जलवायु संकटको ‘हटस्पट’ बनेको र बाढी, खडेरी र तातो लहर जस्ता समस्याहरु बढ्दै जाँदा परम्परागत विकास मोडेलहरु मात्रै पर्याप्त नभएको उल्लेख गरेका थिए।

जलवायु अनुकूलनलाई सुरुदेखि नै विकास नीतिमा एकीकृत गर्न ६ रणनीतिहरु अघि सारिएको थियो। जसमा विकासक्रममा गरिएका गल्तीहरु सुधार्ने, प्रकृतिमा आधारित समाधान निकाल्ने लगायत विषयमा चर्चा गरिएको छ। जलवायु परिवर्तनका अनिश्चितताहरुलाई सामना गर्न वित्तीय लगानी मात्र नभइ उपलब्ध उत्तम ज्ञान र विकसित परिदृश्यहरुका आधारमा नीतिगत परिवर्तन र सामूहिक प्रयासको आवश्यकता रहेको उनको अध्ययनको निष्कर्ष छ।

सन् २०१५ मा नेपालमा भूकम्प जाँदा पछिको अवस्था र पुनर्निर्माणबारे पनि उनले थिए। विद्यालय पुनर्निर्माणसँगै भूकम्प पछिको अवस्थाबाट उठ्न क्षमता अभिवृद्धिमा उनको जोड थियो।

सन् २०१७ मा नेपालमा रहँदा उनले नेपालमा द्रुत आर्थिक रुपान्तरण कसरी गर्न सकिन्छ भन्ने बारेमा मा लेख पनि प्रकाशित गरेका थिए। आफ्नो कार्यकाल सकिनुअघि लेखेको लेखमा उनले नेपाल लामो समयको राजनीतिक संक्रमणपछि स्थिरताको बाटो देखिएको भन्दै मुख्य प्राथमिकता आर्थिक एजेन्डा हुनुपर्ने उल्लेख गरेका थिए। त्यहीबेला विकासका लागि स्पष्ट दृष्टिकोण र त्यसलाई कार्यान्वयन गर्ने बलियो राजनीतिक इच्छाशक्ति आवश्यक रहेको उनको मत थियो।

आर्थिक वृद्धिका लागि पर्याप्त ऊर्जा र भरपर्दो सडक संजाल अनिवार्य सर्त भएको उनको धारणा थियो। साथै, जलविद्युतको विकासले औद्योगिक उत्पादन बढाउने र आयात घटाउन सघाउ पुग्ने हुँदा उनले त्यसबेला नै यस क्षेत्रमा ठूलो लगानीको सम्भावना रहेको उल्लेख गरेका थिए।

बिजमाण्डू प्रि-बजेट कन्फरेन्समा उनले बिहीबार पुँजीगत खर्चबारे प्रवचन दिने तयारी भइरहँदा उनले ९ वर्षअघि नै नेपालको मुख्य समस्या बजेटको अभावभन्दा पनि विनियोजित बजेट खर्च गर्न नसक्ने अवस्था रहेको उल्लेख गरेका थिए। आयोजनाहरुको कार्यान्वयन प्रक्रियालाई छिटो छरितो बनाउनु पर्ने र कर्मचारीतन्त्रको कार्यक्षमता बढाउनुपर्नेमा उनले जोड दिएका थिए।

९ वर्षअघि उनले दिएको सुझाव र अहिले नेपालमा नयाँ सरकारको कामको रफ्तारमा देखिएको तीव्रताबीच योकोयामाले आफ्नो अनुभव साट्न लागेका हुन्।

उनले दिने कि नोट स्पीच बिजमाण्डूको सोसल मिडिया प्लेटफर्महरुबाट प्रत्यक्ष प्रसारण हुनेछ।

कन्फरेन्सका प्रमुख अतिथि अर्थमन्त्री स्वर्णिम वाग्ले र विशेष अतिथि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले पनि कार्यक्रममा मन्तव्य राख्नेछन्। बजेट तयारी चलिरहँदा कन्फरेन्समा दुई मन्त्रीको मन्तव्यलाई महत्त्वका साथ हेरिनेछ।

साथै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलको पनि कार्यक्रममा मन्तव्य रहनेछ।

साथै, सार्वजनिक सेवामा हुनुपर्ने सुधार र ठूला पूर्वाधार निर्माणमा चाल्नुपर्ने अग्रसरताबारे दुईवटा अन्तर्क्रियात्मक प्यानल डिस्कसन पनि हुनेछ।

hello