काठमाडौंमा बस र्यापिड ट्रान्जिट प्रणाली सुरु गर्ने सरकारको तयारी, प्रति किलोमिटर कति लाग्छ खर्च?
May 2026
सरकारले काठमाडौंमा सार्वजनिक यातायात सुधारका लागि बस र्यापिड ट्रान्जिट (बीआरटी) प्रणाली प्रभावकारी विकल्प हुन सक्ने निष्कर्ष निकालेको छ। त्यस अनुसार यो परियोजनाको प्रक्रिया अगाडि बढाउने सरकारको तयारी छ।
सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंमा ‘बस ऱ्यापिड ट्रान्जिट (बिआरटी)’ को विस्तृत डिजाइन र कार्यान्वयन प्रक्रिया सुरु गरिने बताएका थिए।
काठमाडौंमा पछिल्लो समय द्रुत बस सेवा पनि पाइलट योजनाका रुपमा सुरु गरिएको थियो। उक्त सेवा हाल संचालनमा रहे पनि त्यसको आकार निकै सानो छ।
बीआरटीका लागि यसअघि नै धेरै अध्ययनहरु भएका छन्। सरकारको सहकार्यमा क्लिन एयर नेटवर्क नेपाल र क्लिन इनर्जी नेपालले तयार पारेको अध्ययन प्रतिवेदन अनुसार बीआरटी प्रणालीले कम लागतमा उच्च गुणस्तरको सार्वजनिक यातायात सेवा दिन सक्ने तथा दीगो शहरी विकासलाई टेवा पुर्याउने उल्लेख गरिएको छ।
अध्ययनले काठमाडौं उपत्यकामा ट्रलीबसलाई आधुनिक बीआरटी प्रणालीसँग एकीकृत गर्दै रिङरोड तथा मुख्य सहरी करिडोरमा ई-बीआरटी प्रणाली विकास गर्न सिफारिस गरेको छ। यसले उपत्यकाको दिगो शहरी गतिशीलता सुनिश्चित गर्न मद्दत गर्ने प्रतिवेदनमा उल्लेख छ।
बीआरटी प्रणाली कार्यान्वयनका लागि बलियो शहरी यातायात नीति, सार्वजनिक सवारीका लागि छुट्टै लेन, दीर्घकालीन रणनीतिक योजना तथा राजनीतिक प्रतिबद्धता अत्यावश्यक रहेको उल्लेख गरिएको छ। साथै नेपाल विद्युत प्राधिकरण र नेपाल आयल निगमले ऊर्जा तथा इन्धनको निरन्तर आपूर्ति सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
अध्ययनले संस्थागत तथा प्राविधिक क्षमता अभाव, सीमित सडक विस्तार, उच्च जमिन मूल्य, यातायात व्यवसायीको विरोध तथा ऊर्जा संकटलाई बीआरटी विकासका प्रमुख चुनौतीका रुपमा पहिचान गरेको छ। तर, प्रभावकारी संवाद र सरोकारवालाको सहभागिताले ती चुनौती समाधान गर्न सकिने निष्कर्ष निकालिएको छ।

प्रतिकिलोमिटर ४५ करोड रुपैयाँ लागत लाग्ने
बस र्यापिड ट्रान्जिट प्रणाली निर्माणको लागत परियोजनाको डिजाइन, पूर्वाधार र स्थान अनुसार फरक पर्छ। यातायात तथा विकास नीतिसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आईटीडीपी (आईटीडीपी) को रिपोर्टअनुसार विश्वभर बीआरटी प्रणाली निर्माणको औसत लागत प्रतिकिलोमिटर १ करोडदेखि १ करोड ५० लाख अमेरिकी डलरसम्म पर्ने गरेको उल्लेख छ। जुन नेपाली डेढ अर्बदेखि साढे २ अर्ब रुपैयाँ हुन आउँछ।
रिपोर्टका अनुसार न्यून आय भएका देशहरुमा आधारभुत बीआरटी प्रणाली निर्माणको लागत प्रतिकिलोमिटर ३० लाखदेखि ५० लाख अमेरिकी डलरसम्म सीमित हुन सक्छ। जुन नेपाली ४५ करोडदेखि ७५ करोड रुपैयाँ प्रति किलोमिटर हुन आउँछ।
तर, विकसित तथा उच्च आय भएका देशहरुमा अत्याधुनिक पूर्वाधारसहितको बीआरटी निर्माण गर्दा प्रतिकिलोमिटर २ करोडदेखि ३ करोड अमेरिकी डलरसम्म खर्च लाग्न सक्ने बताइएको छ।
बीआरटी परियोजनाको लागत निर्धारणमा सेवा स्तर, छुट्टै बस लेन, आधुनिक स्टेशन, ट्राफिक व्यवस्थापन प्रणाली, श्रम लागत र निर्माण सामग्रीको मूल्य मुख्य कारक हुने अध्ययनले देखाएको छ।
विज्ञहरुका अनुसार प्रभावकारी सार्वजनिक यातायात प्रणालीका रुपमा बीआरटीलाई शहरी ट्राफिक व्यवस्थापन, प्रदूषण न्यूनीकरण र यात्रु सुविधाको दृष्टिले महत्वपूर्ण विकल्प मानिन्छ।
निर्माण र संचालन खर्च पनि कम
विश्वका धेरै शहरहरुले आआरटीलाई महँगो राजमार्ग विस्तार वा पुनर्निर्माणको व्यावहारिक विकल्पको रुपमा पनि हेरेका छन्। बीआरटीका बसहरु डेडिकेटेड लेनमा तीव्र गतिमा संचालन हुन सक्ने मात्र होइन, आवश्यक पर्दा सामान्य सडकमा समेत संचालन गर्न सकिने भएकाले यसको संचालन बढी लचिलो हुने जानकार बताउँछन्।
यसले शहरको विस्तार, जनसंख्या वृद्धि र यात्रु मागअनुसार प्रणालीलाई सजिलै अनुकूल बनाउन मद्दत गर्ने जनाइएको छ।
अध्ययन अनुसार राम्रोसँग डिजाइन गरिएको बीआरटी प्रणाली शहरको समग्र संरचनाको महत्वपूर्ण हिस्सा बन्न सक्ने र वरपरका क्षेत्रमा आर्थिक तथा भौतिक पुनर्विकासलाई गति दिने माध्यम बन्न सक्ने विश्वास पनि गरिएको छ। बीआरटी करिडोर वरपर व्यापार, आवास, सेवा तथा पूर्वाधार विकास बढ्ने भएकाले यसलाई शहरी पुनर्जागरणको उत्प्रेरकका रुपमा पनि हेरिन्छ।
उदाहरणका लागि सन् १९७६ मा ओटावामा गरिएको एक अध्ययनले बस-आधारित द्रुत यातायात प्रणाली रेल यातायातको तुलनामा आधा पूँजीगत लागतमा निर्माण गर्न सकिने र संचालन खर्च पनि करिब २० प्रतिशत कम हुने निष्कर्ष निकालेको थियो।
यो अध्ययन बीआरटीलाई लागत-प्रभावकारी शहरी यातायात समाधानका रुपमा स्थापित गर्ने प्रारम्भिक महत्वपूर्ण उदाहरणमध्ये एक मानिन्छ।