माग पूरा नभए देशभर निर्माण ठप्प पारी आन्दोलनमा जाने निर्माण व्यवसायीको चेतावनी
May 2026
काठमाडौं। निर्माण व्यवसायीहरूले एक साताभित्र आफ्ना माग सम्बोधन नगरे देशभरका सबै निर्माण काम बन्द गर्ने चेतावनी दिएका छन्।
निर्माण सामग्री र इन्धनको मूल्य अत्यधिक बढ्दा उद्योग नै संकटमा परेको उनीहरूको भनाइ छ।
नेपाल निर्माण व्यवसायी महासंघले पत्रकार सम्मेलन गर्दै पछिल्लो समय लागत अत्यधिक बढेकाले पुरानो दररेटमा काम गर्न असम्भव भएको जनाएको छ।
महासंघका अनुसार डिजेलदेखि बिटुमिन, सिमेन्ट र फलामजन्य सामग्रीसम्मको मूल्यमा तीव्र वृद्धि हुँदा निर्माण क्षेत्र ‘काम रोकिने अवस्था’मा पुगेको छ।
व्यवसायीहरूले वर्तमान अवस्थालाई असाधारण परिस्थिति भन्दै मूल्य समायोजन आवश्यक भएको माग गरेका छन्।
उनीहरूका अनुसार काम गरे घाटा, नगरे जरिवाना भन्ने दोहोरो दबाबमा व्यवसायी परेका छन्।
त्यसैगरी, चालू आर्थिक वर्षमा पुँजीगत खर्च न्यून रहेको विषयले पनि निर्माण क्षेत्र प्रभावित भएको महासंघले जनाएको छ।
सरकारी नीतिले केही सुधारको संकेत दिए पनि मुख्य समस्याहरू समाधान हुन नसकेको उनीहरूको गुनासो छ।
महासंघले निर्माण व्यवसायीमाथि भइरहेको कारबाही र निगरानीको शैलीप्रति पनि आपत्ति जनाएको छ।
प्राविधिक विषयलाई लिएर अनावश्यक दबाब सिर्जना गरिएको भन्दै यस्तो अभ्यास तत्काल रोक्न माग गरिएको छ।
एक हप्ताभित्र मूल्य समायोजनसहित आवश्यक नीतिगत निर्णय नभए देशभरका निर्माण कार्य स्वतः ठप्प पारिने र त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी व्यवसायीहरूले दिएका छन्।