प्रधानमन्त्रीलाई हर्कले भने- ‘आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन, उत्तर दिन संसदमा आउनुस्’
May 2026
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन्द्र साहले नै दिनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभामा बिहीबार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले सरकार प्रमुखले आफ्नै नीति तथा कार्यक्रममाथिको बहस नसुन्नु संसदको मर्यादा र संसदीय परम्परा विपरित भएको बताएका छन् ।
उनले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सांसदहरूको धारणा प्रत्यक्ष नसुनेपनि सांसदहरुले उठाएको प्रश्नको जवाफ भने दिनुपर्ने बताएका छन् । यदी प्रधानमन्त्री उत्तर दिन पनि उपस्थित नभएमा श्रम संस्कृति पार्टीले संसद बहिस्कार गर्ने चेतावनी दिएका छन् । उनले भने, ‘ नीति तथा कार्यक्रममाथिको छलफल प्रधानमन्त्रीले सुन्नु भएन तर उत्तर दिने क्रममा उहाँ आउनुहुनेछ भन्ने मैले विश्वास लिएको छु । यदी उहाँ आउनुहुन्न भने हाम्रो श्रम संस्कृति पार्टी बाहिरिनेछौँ ।’
प्रधानमन्त्रीको अनुपस्थितिमाथि व्यंग्य गर्दै राईले आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर नहुने तर्क गरेका छन् । ‘आफ्नो विहेमा अरुलाई बेहुला पठाएर हुँदैन । त्यसो भएको हुनाले उत्तर दिन उहाँ आफै आउनुपर्छ । अब यो काग कराईरहन्छ, पिनास सुकिरहन्छ भन्ने हिसावले हामी संसदलाई चलाउन सक्दैनौँ ।’ हर्कले भने ।
सम्पाङले देश विकास गर्न गफले मात्रै नहुने समेत बताएका छन् । त्यस्तै, उनले नीति तथा कार्यक्रममा सबै सांसदहरुको सुझाव समेट्नुपर्ने भएपनि एकलौटी ल्याइएको गुनासो गरेका छन् । नीति तथा कार्यक्रममा संसदमा पर्याप्त छलफल हुन नसकेको उनको भनाई छ ।
उनले नीति तथा कार्यक्रममा नीति र कार्यक्रमको बारेमा स्पष्टता नदेखिएको आरोप समेत लगाएका छन् ।