hello

पुर्वाधार विकासमा चुलाचुली गाउँपालिकाको छलाङ

1 week ago

उमानाथ भण्डारी

चुलाचुली । इलाम जिल्लाको दक्षिणी भागमा अवस्थित चुलाचुली गाउँपालिका प्राकृतिक सौन्दर्य, कृषि उत्पादन र विविध संस्कृतिको संगमस्थलका रूपमा परिचित छ । यस पालिकाले पूर्वाधार विकास, कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य तथा सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउदै समृद्ध र आत्मनिर्भर स्थाँनीय तहका रूपमा निरन्तर अगाडि बढिरहेको हो ।

प्राकृतिक स्रोत र सम्भावनाले भरिपूर्ण स्थानीय तह भएकाले यस पालिकाका जनप्रतिनिधिहरुले कृषि, पशुपालन, पर्यटन तथा व्यावसायिक क्षेत्रलाई प्राथमिकतामा राख्दै विकास निर्माणका कार्यलाई तीव्रता दिएको पाइएको हो ।

दोस्रो कार्यकालका लागि जनप्रतिनिधि निर्वाचित भएपछि पालिकाले नागरिकको आवश्यकता पहिचान गर्दै सडक, पुल, कल्भर्ट, विद्यालय भवन, खानेपानी, कृषि तथा पशुपालनका क्षेत्रमा योजनाबद्ध गरिएको लगानीले आज यो उपलब्धि हाँसिल गर्न गाउँपालिका सफल भएको उनीहरुको दावी छ ।

विकासको पहिलो आधार भनेको सडक नै हो भन्ने मान्यतालाई आत्मसात गर्दै गाउँपालिकाले ग्रामीण सडक सञ्जाल विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाएको छ ।

पालिका भित्रका विभिन्न वडाहरूलाई जोड्ने सडकको कालोपत्रे, स्तरोन्नति, उच्च स्तरको ग्राभेल, ड्रेन निर्माण, प्लमवाल तथा सडक विस्तार, विध्यालय भवनलाई प्राथमिकतामा राखेर विभिन्न योजना सञ्चालनमा छन् ।

सडक निर्माणले नागरिकको आवागमन सहज हुनुका साथै कृषि उत्पादन बजारसम्म पुर्याउनसमेत ठूलो सहयोग पुगेको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ बताउनु हुन्छ ।

गाउँपालिकाको समग्र विकासको आधार भनेकै पूर्वाधार हो भन्नुहुँदै अध्यक्ष केरुङ गाउँपालिकाका सबै वडालाई सडक सञ्जालले जोड्ने लक्ष्यका साथ अहिले धमाधम निर्माणका काम भै रहेको बताउनु हुन्छ ।

अधिकांश सडकहरूको स्तरोन्नति भइसकेको र केही सडकमा कालोपत्रे तथा ढल निकासको काम अगाडि बढिरहेको छ । हिउँदमा मात्र यातायात सन्चालन हुने गाउँपालिकामा अहिले वर्षभर नै यातायात सञ्चालन गर्ने लक्ष्यसहित सडक निर्माणको कामलाई प्राथमिकतामा राखेर काम गरिरहेका हौं अध्यक्ष केरुङ प्रष्ट्याउनु हुन्छ ।

निर्माण भइरहेका योजनाको अनुगमनलाई समेत निरन्तता दिइएको उपाध्यक्ष दिलकुमारी लिम्बू योङ्गहाङ बताउनु हुन्छ । स्थानीय सरकार नागरिक कै घर आँगनको सरकार भएर होला, नागरिकका दैनिक आवश्यकता, विकास निर्माणका योजना, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र बजार व्यवस्थापनका विषयमा प्रत्यक्ष रूपमा पालिकाले ध्यान दिएको उपाध्यक्ष योङ्गहाङको भनाई छ ।

गाउँपालिकाले सेवा प्रवाहलाई समेत चुस्त दुरुस्त बनाउँदै नागरिकका गुनासोलाई अधिकतम् समाधान गर्नेतर्फ गाउँपालिकाको सिंगो टिम लागिपरेको प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य बताउनु हुन्छ ।

पालिकामा चालु आर्थिक वर्षमा आन्तरिक स्रोतका साथै प्रदेश र संघीय सरकारबाट प्राप्त विशेष र समपुरक अनुदानबाट पालिकाका ६ वटै वडामा सडक कालोपत्रे, स्तरोन्नति, विध्यालयका भवन निर्माण गर्ने काम अन्तिम अवस्थामा पुर्याइएको छ ।

यसका साथै वर्षातको समयमा हुनसक्ने नदीजन्य विपदलाई न्यूनीकरण गर्नसमेत गाउँपालिकाले कमल लगायतका खोलामा तटबन्ध गरेको इन्जिनियर विकल खनाल बताउनु हुन्छ ।

वर्षा याममा खोला तथा खोल्सामा आएको बाढीका कारण आवागमनमा हुने समस्या समाधान गर्न गाउँपालिकाले विभिन्न स्थानमा पुल तथा कल्भर्ट निर्माणलाई प्राथमिकता दिएको छ ।

जस अन्तरगत वडा कार्यालय र गाउँपालिको सहकार्यमा ३३ लाख रुपैयाँको लागतमा विष्ट होलि र दाहाल खोल्सीमा कल्भर्ट निर्माणको कार्य हुँदैछ ।

नयाँ पुल तथा कल्भर्ट निर्माणसँगै वर्षौंदेखिको स्थानीयको समस्या समाधान हुने भएको छ । विद्यार्थी, किसान तथा सर्वसाधारण नागरिकलाई आवत जावतमा सहज हुने वडा नम्बर १ का कार्यवाहक वडाध्यक्ष लालबहादुर चाम्लिङ राई बताउनु हुन्छ ।

शिक्षा विकासको मेरुदण्ड हो । गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधार आवश्यक हुने भएकाले गाउँपालिकाले विद्यालय भवन निर्माण, मर्मत तथा शैक्षिक सामग्री व्यवस्थापनमा विशेष ध्यान दिएको छ ।

अधिकांश विद्यालयमा नयाँ भवन निर्माण भएका छन् भने पुराना भवनहरूको मर्मत तथा स्तरोन्नति गरिएको छ । विद्यालय परिसर व्यवस्थित भएसँगै शैक्षिक वातावरण सुधार उन्मुख देखिन्छ ।

गाउँपालिकाले पुर्वाधार तर्फ सडक निर्माणका साथै सामुदायिक विध्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विध्यालय भवन निर्माण कार्यलाई तीव्रता दिएको हो । जस अन्तरगत वडा नम्बर २ को जनता माध्यमिक विध्यालय र वडा नम्बर १ स्थित शिवज्योति आधारभुत विध्यालयमा भवन निर्माणको काम भइरहेको छ ।

नयाँ भवन निर्माण पछि कक्षा सन्चालनमा धेरै सहज हुने र शैक्षिक गुणस्तरमा समेत सुधार हुने शिवज्योति आधारभुत विध्यालयका प्रधानाध्यापक रीना माखिम सुब्बा बताउनु हुन्छ ।

चुलाचुली गाउँपालिकाको ६ वटा वडामध्ये वडा नम्वर १ मा देवनागरिक र श्रीजङ्गा लिपीमा समेत सरकारी कामकाज हुन्छ । वडाका स्वीकृत वार्षिक योजनाका साथै गाउँपालिकाले समेत वडा नम्बर १ मा पुर्वाधारतर्फ धेरै काम गरेको छ ।

जसमा वडा नम्बर १ देखि ६ सम्म जोड्ने चुलाचुली मार्ग कालोपत्रे भएको छ । त्यस्तै कमल खोलमा तटबन्ध, वडा नम्बर १ र २ जोड्ने बाघद्वार खोलामा ट्रष्ट ब्रिज निर्माणको प्रकृयामा रहेको वडा सचिव गोविन्दप्रसाद ढकाल बताउनु हुन्छ ।

त्यसैगरी वडा नम्बर १ मा २०२९ सालमा स्थापना भएको किरात हाङ्गसाम साम्योक माङ्हिमको कम्पाउण्ड वाल घेराबारा गर्ने काम सम्पन्न भएको छ । वडा नम्बर २ स्वामीचोकमा रहेको दुर्गा मन्दिरको मर्मत तथा छानामा ट्रष्ट लगाउने काम अन्तिम चरणमा पुगेको छ ।

प्रदेश सरकारको सहयोगमा अर्नाखाडी हुँदै झापाको कमल गाउँपालिका ३ मा रहेको ट्याक्सी स्टेण्ड जोड्ने सडक २ हजार ५०० मिटर कालोपत्रे गर्ने काम सम्पन्न भएको वडा सचिव निर्मला घिमिरेले बताउनु भयो ।

त्यसैगरी वडा नम्बर ३ मा निर्माणाधिन अवस्थामा रहेको पालिकाकै गौरवको योजना चुलाचुली स्तरीय सभाहलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । संघीय सरकारको ३ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण हुँदै गरको उक्त सभाहल विशेष गरी पर्यटन विकालाई लक्षित गरेर निर्माण गरिएको पालिकाले जनाएको छ ।

त्यस्तै वडा नम्बर ३ मै रहेको सिमलतरुल प्रशोधन केन्द्र र कृषि भवन लगायत वडा नम्बर ३ मा पुर्वाधारतर्फ धेरै परिवर्तन भएको वडाध्यक्ष प्रेम श्रेष्ठ बताउनु हुन्छ ।

चुलाचुली गाउँपालिकालाई विकास, समृद्धि र सुशासनको नमुना गाउँपालिका बनाउने अभियानलाई केन्द्रमा राखेर जनप्रतिनिधि एवम् कर्मचारीको निरन्तर प्रयासले आज आम नागरिकको साथ र सहयोगबाट समृद्ध गाउँपालिका निर्माणतर्फ अगाडि बढेको हो ।

hello