hello

पायोनियर मोटो कर्पले विराटनगरमा सुरु गर्‍यो ओमोडा ई-फाइभ प्रो मोडल गाडीको विक्री

Jun 2026

विराटनगर। शारडा समूहको पायोनियर मोटो कर्पले विराटनगरस्थित सोरुमबाट ओमोडा ई-फाइभ प्रो मोडल गाडी विक्री सुरु गरेको छ।

पायोनियरले मंगलबारदेखि ओमोडा ई-फाइभ प्रो मोडलका सिंगल टोन र डुअल टोन गरी छुट्टाछुट्टै दुई भेरियन्टका गाडीको विक्री सुरु गरेको हो।

शारडा समूहकै एसपीजी अटोमोबाइलले आयात गरेको उक्त गाडी पायोनियर मोटो कर्पबाट विक्री हुन थालेको हो।

सिंगल टोनको मूल्य ५१ लाख ५९ हजार र डबल टोनको ५१ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ।

मंगलबार आयोजित कार्यक्रममा सीएनआई कोशीका अध्यक्ष पवनकुमार शारडासहित एसपीजीका सन्दीप शारडा, प्रदीप शारडा, गौरव शारडा, अमित शारडा र राजेश शर्माले संयुक्त रूपमा ओमोडा ई-फाइभ प्रो गाडी सार्वजनिक गरेका थिए।

कार्यक्रममा अध्यक्ष शारडाले उच्च गुणस्तरका अत्याधुनिक सवारीसाधनप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको र यसले मुलुक समुन्नतिको दिशामा रहेको संकेत गर्ने बताए।

लन्चिङ कार्यक्रममा विराटनगरमा गाडी सार्वजनिक भएका अवसरमा सिंगल भेरियन्टको मूल्य पहिलो ५० ग्राहकका लागि ४९ लाख ९९ हजार राखिएको र एक वर्षको अटो प्लस इन्स्युरेन्स पनि उपलब्ध हुने घोषणा गरिएको थियो।

एसपीजीका उपाध्यक्ष राजेश शर्माले नेपालमा लन्च भएदेखि नै यो सवारीसाधनले आफ्नो फ्युचरिस्टिक डिजाइन, उत्कृष्ट रेन्ज, उच्च ग्राउन्ड क्लियरेन्स र आधुनिक प्रविधिका कारणले लोकप्रिय सपोर्ट युटिलिटी भेइकल (एसयुभी) बन्न सफल भएको दाबी गरे।

उपाध्यक्ष शर्माले यस सवारीसाधनले आफ्नो नयाँ डिजाइन र स्मार्ट फिचरबाट आधुनिक नेपाली ग्राहकलाई लक्षित प्रिमियम अनुभव प्रदान गर्ने बताए।

गाडीमा ५० दशमलव ७ किलोवाट आवर ब्याट्री प्याक, ९९ किलोवाट इलेक्ट्रिक मोटर र २८८ न्युटन मिटर टर्क (कुद्ने क्षमता) रहेको कम्पनीले जनाएको छ।

एसपीजीले यसबाट गाडीले एक पटकको फुल चार्जमा ३५० किलोमिटर दूरी तय गर्नसक्ने दाबी गरेको छ। साथै १९१ एमएम ग्राउन्ड क्लियरेन्सका कारण यो गाडी नेपालका विभिन्न सडक अवस्थाका लागि उपयुक्त भएको बताइएको छ।

उपाध्यक्ष शर्माले भने, ‘यसमा १८ इन्चका अलोय चक्का समावेश छन्। यसले गर्दा सतहसितको सपोर्ट र प्रिमियम उपस्थिति अझ आरामदायी हुनेछ।’

कम्पनीले गाडीलाई सडकमा शक्तिशाली उपस्थिति गराउन यसको बाहिरी डिजाइन ओमोडाको फ्युचरिस्टिक डिजाइन फिलोसफीका आधारमा तयार गरिएको जनाएको छ।

‘यसमा बोल्ड फ्रन्ट फेसिया, एरोडायनामिक प्रोफाइल र विशेष फ्यान्टम विंग टेललाइट समावेश छन्, जसले सडकमा शक्तिशाली उपस्थिति सिर्जना गर्नेछ। भित्री भागमा प्रिमियम केबिन अनुभव प्रदान गर्ने इलेक्ट्रिक सनरुफ र उच्च गुणस्तरका इन्टेरियर सामग्री छन्’, एसपीजीको विज्ञप्तिमा भनिएको छ।

hello