साहित्यकार ज्ञवालीको उपन्यास ‘अज्ञात’ सार्वजनिक
May 2026
काठमाडौँ- साहित्यकार केशवराज ज्ञवालीको नयाँ उपन्यास ‘अज्ञात’ सार्वजनिक भएको छ ।
काठमाडौँमा आयोजित विशेष कार्यक्रममा ज्ञवालीको उपन्यास सार्वजनिक गरिएको हो । लेखक मोहन मैनाली र लेखक ज्ञवालीले पुस्तक संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो ।
कार्यक्रममा पद्मश्री साहित्य पुरस्कार विजेतासमेत रहनुभएका लेखक ज्ञवालीले गोर्खा राज्यको विस्तार नेपालको वर्तमान भूगोल निर्धारण गर्ने ठूलो घटना भएको उल्लेख गर्नुहुँदै त्यस क्रममा योगदान गरेका तर गुमनाम पात्रहरुको कथालाई आफूले उपन्यासमा उतारेको बताउनुभयो ।
इतिहास लेखन र पठनको सिलसिलामा धेरै पटक राजा, सेनानायकको चर्चा भेटिएको र आम मान्छेहरू आकलझुक्कल आउने गरेको भन्दै हाम्रा पुर्खा संलग्न भएको लडाइँ, जति सेनानायकहरूको थियो, त्यति नै वा त्योभन्दा बढी त्यो समयका भुइँमान्छेहरूको पनि भएकोले उनीहरूको कथा ‘अज्ञात’ मार्फत राख्ने प्रयास गरेको ज्ञवालीले उल्लेख गर्नुभयो।
आम मान्छेको बलमा बनेको यो देशको सीमाले केकस्ता सङ्घर्ष र कष्टको साक्षी बस्यो भन्ने जानकारी पुस्तकले दिने लेखक ज्ञवालीको भनाइ थियो ।।