सीजी मोटोकर्पद्वारा सुजुकी e VITARA को देशव्यापी हस्तान्तरण सुरु
May 2026
काठमाडौँ, वैशाख ३१ । सीजी मोटोकर्पले सुजुकीको पहिलो पूर्ण विद्युतीय एसयूभी ‘e VITARA’ को देशव्यापी ग्राहक हस्तान्तरण सुरु गरेको छ ।
कम्पनीका अनुसार यो नेपाली बजारका लागि सुजुकीको पहिलो पूर्ण निर्मित (CBU) विद्युतीय गाडी मात्र नभई यस मूल्य वर्गमा नेपालमा भित्रिएको पहिलो जापानी विद्युतीय एसयूभी पनि हो ।
सुजुकीको आधिकारिक डिलर सञ्जालमार्फत देशभर ग्राहकलाई गाडी हस्तान्तरण भइरहेको कम्पनीले जनाएको छ । नेपाल दक्षिण एसियामै तीव्र रूपमा विस्तार भइरहेको विद्युतीय सवारी बजारका रूपमा स्थापित हुँदै गइरहेका बेला सुजुकीले औपचारिक रूपमा ईभी सेग्मेन्टमा प्रवेश गरेको हो ।
कम्पनीले e VITARA को सुरुवाती परिचयात्मक मूल्य ४९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ । यो मूल्य पहिलो १०० ग्राहकका लागि सीमित अवधिसम्म लागू हुने बताइएको छ ।
सीजी मोटोकर्पका अनुसार e VITARA नेपाली सडक, भौगोलिक अवस्था तथा ग्राहकको दीर्घकालीन आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको उत्पादन हो । कम्पनीले यसलाई केवल एउटा नयाँ मोडल नभई सुजुकीको दीर्घकालीन विद्युतीय सवारी रणनीतिको सुरुवातका रूपमा प्रस्तुत गरेको छ ।
सीजी मोटोकर्पले सन् २०३० सम्म नेपाली बजारमा सुजुकीका थप ६ वटा विद्युतीय गाडी ल्याउने योजना समेत सार्वजनिक गरेको छ ।
देशव्यापी सेवा सञ्जालको समर्थन
कम्पनीका अनुसार e VITARA नेपालभर रहेका २५ आधिकारिक बिक्री केन्द्र र ४० आफ्टर–सेल्स सर्भिस सेन्टरमार्फत सेवा उपलब्ध हुने गरी बजारमा ल्याइएको हो । विशेष रूपमा तयार गरिएको ईभी सेवा प्रणाली, तालिमप्राप्त प्राविधिक टोली तथा स्पेयर पार्ट्सको सुनिश्चित आपूर्तिलाई कम्पनीले यसको प्रमुख विशेषताका रूपमा उल्लेख गरेको छ ।
ब्याट्री, क्षमता र रेन्ज
e VITARA दुई ब्याट्री विकल्पमा उपलब्ध छ — ४९ kWh र ६१ kWh । यी मोडलहरूले क्रमशः १०८ kW र १२८ kW शक्ति उत्पादन गर्छन् । कम्पनीका अनुसार ६१ kWh भेरियन्टले एकपटकको चार्जमा ५०० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ ।
यो गाडी सुजुकीको नयाँ HEARTECT-e प्लेटफर्ममा आधारित छ । यसमा 3-in-1 इलेक्ट्रिक पावरट्रेन, लिथियम–आयन ब्याट्री तथा उन्नत थर्मल म्यानेजमेन्ट प्रणाली जडान गरिएको छ, जसले अत्यधिक गर्मीदेखि चिसोसम्मका मौसममा पनि स्थिर प्रदर्शन दिने दाबी गरिएको छ ।
गाडीमा Eco, Normal र Sport गरी तीन ड्राइभिङ मोडका साथै Snow Mode पनि उपलब्ध छ । रिजेनेरेटिभ ब्रेकिङ प्रणालीले एक–पेडल ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
आधुनिक डिजाइन र प्रिमियम इन्टेरियर
e VITARA मा १८ इन्चका एयरोडाइनामिक एलोय ह्वील, LED प्रोजेक्टर हेडल्याम्प तथा नयाँ पुस्ताको DRL डिजाइन समावेश गरिएको छ ।
भित्री भागमा १०.१ इन्चको डिजिटल डिस्प्ले, १०.२५ इन्चको मल्टी–इन्फर्मेसन डिस्प्ले, सनरुफ, एम्बियन्ट लाइटिङ तथा Infinity by Harman साउन्ड सिस्टम उपलब्ध छन् ।
२,७०० मिमी ह्वीलबेसका कारण पर्याप्त आन्तरिक स्पेस रहेको कम्पनीले जनाएको छ ।
सुरक्षामा विशेष जोड
सुरक्षाका लागि e VITARA मा Level 2 ADAS, ७ एयरब्याग, इलेक्ट्रोनिक पार्किङ ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम तथा e-Call सुविधा उपलब्ध छन् । HEARTECT-e प्लेटफर्म उच्च–टेन्साइल स्टिलबाट निर्मित भएकाले सुरक्षा क्षमता अझ मजबुत भएको कम्पनीको दाबी छ ।
सीजी मोटोकर्प, चौधरी ग्रुप अन्तर्गतको अटोमोबाइल व्यवसाय हो । कम्पनीले नेपालमा सुजुकी प्यासेन्जर गाडीको आधिकारिक प्रतिनिधित्व गर्दै आएको छ ।