hello

दक्षिण अफ्रिकामा डोङफेङको बजेटमैत्री इलेक्ट्रिक एसयूभी ‘नामी 06 E1’ सार्वजनिक

May 2026

काठमाडौँ । चिनियाँ अटो निर्माता डोङफेङले दक्षिण अफ्रिकामा आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ‘नामी 06 E1’ सार्वजनिक गरेको छ ।

कम मूल्यमा उपलब्ध गराइएको यो मोडल दक्षिण अफ्रिकाको हालसम्मकै सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी बनेको कम्पनीले जनाएको छ ।

दक्षिण अफ्रिकामा यो मोडल ‘भिगो’ नामले समेत परिचित छ । डोङफेङले यसअघि ‘बक्स’ ह्याचब्याक र ‘007’ प्रिमियम सेडान बजारमा ल्याइसकेको छ भने नामी 06 E1 कम्पनीको तेस्रो मोडल हो ।

यो एसयूभी दुई भेरियन्टमा उपलब्ध हुनेछ । दुवै भेरियन्टमा १२० किलोवाट क्षमताको फ्रन्ट–माउन्टेड मोटर र २३० न्युटन मिटर टर्क रहेको छ । यसले गाडीलाई शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन करिब ७.८ सेकेन्ड समय लाग्ने कम्पनीले जनाएको छ ।

यसको सुरुवाती मूल्य ४ लाख ९९ हजार र्‍यान्ड तोकिएको छ, जुन हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5 भन्दा करिब २ लाख र्‍यान्ड कम हो ।

नामी 06 E1 मा ४४.९४ किलोवाट–घण्टा क्षमताको लिथियम–आइरन–फस्फेट ब्याट्री प्रयोग गरिएको छ । चिनियाँ CLTC मापदण्डअनुसार यसले एक पटकको चार्जमा ४०१ किलोमिटरसम्म यात्रा गर्न सक्छ भने WLTP मापदण्डअनुसार यसको रेन्ज करिब ३०० किलोमिटर रहने बताइएको छ ।

यसमा ६० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सुविधा रहेको छ, जसले ब्याट्रीलाई ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३० मिनेट समय लिन्छ ।

त्यसैगरी, उच्च स्पेसिफिकेसन भएको E3 भेरियन्टको मूल्य ५ लाख ७९ हजार र्‍यान्ड निर्धारण गरिएको छ । यसमा ५१.८७ किलोवाट–घण्टा क्षमताको ठूलो ब्याट्री जडान गरिएको छ, जसले CLTC मापदण्डअनुसार ४७१ किलोमिटर तथा WLTP अनुसार करिब ३५० किलोमिटर रेन्ज प्रदान गर्छ ।

E3 मोडलमा १६७ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट उपलब्ध छ, जसले ब्याट्रीलाई ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न केवल १८ मिनेट लाग्ने कम्पनीले जनाएको छ ।

फिचरका हिसाबले नामी 06 E1 मा १२.८ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले, ८.८८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ६–स्पिकर अडियो सिस्टम, वायरलेस फोन चार्जर, रियर–भ्यु क्यामेरा, पार्किङ सेन्सर, ६ एयरब्याग, अटोमेटिक एसी, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल तथा ५०० लिटर बुट स्पेसजस्ता सुविधा समावेश गरिएको छ ।

यो एसयूभी कालो, सेतो, सिल्भर, सुन्तला र हरियो गरी पाँच रंगमा उपलब्ध हुनेछ ।

hello