वैज्ञानिकहरुको ठूलो खोजः मानिसको हुन्छ ‘तेस्रो आँखा’ !
May 2026
वैज्ञानिकहरुले हालै एउटा अचम्मलाग्दो खोज गरेका छन्। वैज्ञानिकहरुले मानिसको तेस्रो आँखा पनि हुन्छ भन्ने पत्ता लगाएका हुन्। हाम्रो टाउकोको बीचमा लुकेको पाइनल ग्रन्थी वास्तवमा प्राचीन ‘तेस्रो आँखा’को अवशेषका रुपमा रहेको छ। यसको काम अब हेर्नु मात्र नभएर निद्रा र हाम्रो शरीर घडीलाई नियमित गर्नु पनि हो।
करेन्ट बायोलजी जर्नलमा प्रकाशित एउटा अनुसन्धान पत्रअनुसार ससेक्स विश्वविद्यालय र लुन्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले दावी गरेका छन् कि लाखौ वर्षपहिले हाम्रा पुर्खाहरुको मध्य आँखा थियो। जुन समयसँगै पाइनल ग्रन्थीमा विकसित भयो। यो खोजले हामीलाई हाम्रो आँखा र शरीर घडीको विकासका बारेमा नयाँ कथा बताउँछ।
लगभग ५० करोड वर्षपहिले हाम्रा पुर्खाहरु समुद्रको हिलो र अँध्यारो गहिराइमा बस्ने समुद्री प्राणी थिए। यी जीवहरुको दुई छेउका आँखाहरुले विस्तारै आफ्नो कार्य गुमाए किनभने तिनीहरु अँध्यारोमा बेकार भए। यद्यपि, तिनीहरुको टाउकोको बीचमा एक विशेष संरचना थियो– जसलाई अनुसन्धानकर्ताहरुले ‘समग्र पूर्वज मध्य आँखा’ नाम दिएका छन्। यो केन्द्रीय आँखाले प्रकाश पत्ता लगाउन, दिन र रात छुट्याउन तथा दिशा तय गर्न मद्दत गर्यो।
जब यी जीवहरु सुरुङहरुमा बस्न थाले तब तिनीहरुले आफ्नो छेउको आँखा गुमाए तर मध्य आँखा कायम राखे। किनकि यो उनीहरुको दृष्टिका लागि आवश्यक थियो। अनुसन्धानकर्ता प्रोफेसर टम बाडेनका अनुसार समयसँगै यस केन्द्रीय आँखाको भागहरु दुई छेउमा सर्यो। यो हाम्रो वर्तमान समयको रेटिना बन्यो। जब कि बीचको भाग पाइनल ग्रन्थी बन्यो।
आज पाइनल ग्रन्थीले के गर्छ ?
आज पाइनल ग्रन्थी हाम्रो मस्तिष्कको बीचमा अवस्थित एउटा सानो अंग हो। यसले अब प्रत्यक्ष रुपमा प्रकाश बुझ्दैन तर हाम्रा दुवै आँखाबाट प्रकाश र अँध्यारोका बारेमा जानकारी प्राप्त गर्दछ। यसको सबैभन्दा महत्वपूर्ण भूमिका मेलाटोनिन नामक हर्मोन उत्पादन गर्नु हो।
रात पर्दा पाइनल ग्रन्थीले मेलाटोनिन निस्कन्छ। जसले शरीरलाई सुत्ने समय भएको बताउँछ। यसले हाम्रो सर्काडियन लय, २४ घन्टा शरीर घडीलाई नियमन गर्छ। यसले निद्रामात्र नभएर प्रजनन प्रणाली, प्रतिरक्षा प्रणाली, मुड र शरीरको तापक्रमलाई पनि असर गर्छ। यो हर्मोन दिनको समयमा कम उत्पादन हुन्छ। त्यसैले हामी जागा रहन सक्छौँ।
के रेटिना पहिले आयो कि आँखा ?
अनुसन्धानकर्ताहरु विश्वास गर्छन् कि रेटिना आँखाअघि विकसित भएको थियो। प्रोफेसर टम बाडेनले व्याख्या गरे कि गहिरो पानी वा हिलोमा दिन र रात छुट्याउन तथा माथि र तल दिशाहरु जान्न महत्वपूर्ण थियो। छेउका आँखाहरु गायब भए। तर, मध्य आँखा रह्यो किनकि यो यसै उद्देश्यका लागि डिजाइन गरिएको थियो।
यस अध्ययनले नयाँ प्रयोगहरु गरेन। अनुसन्धानकर्ताहरुले आनुवंशिक डाटा, जीवाश्महरु र माछा, ल्याम्प्रे (एक प्राचीन माछा) तथा अन्य जीवहरुको अवस्थित अध्ययनहरुको विश्लेषण गरे। नतिजा यो भयो कि हाम्रो आँखा र पाइनल ग्रन्थी छुट्टाछुट्टै विकसित भएनन् तर एउटै प्राचीन संरचनाबाट विकसित भए।
केही जीवहरुमा तेस्रो आँखा अझै पनि देखिन्छ
यो तेस्रो आँखा अझै पनि केही जीवहरुमा स्पष्ट रुपमा देखिन्छ। टुआटारा भनिने न्युजिल्यान्ड सरीसृप एउटा प्रमुख उदाहरण हो। यसको टाउकोमा एउटा सानो आँखा छ। जसमा लेन्स र रेटिना समावेश छ। यसले विस्तृत रुपमा देख्न सक्दैन तर माथिबाट आउने प्रकाशमा परिवर्तनहरु पत्ता लगाउँछ। यसले टुआटारालाई दिन र रात छुट्याउन मद्दत गर्दछ। उसले घाममा नुहाउने वा लुक्ने निर्णय गर्छ।
पाइनल ग्रन्थी र आध्यात्मिक विश्वास
प्राचीन समयदेखि नै पाइनल ग्रन्थीलाई विशेष महत्व दिइएको छ। ग्रीक चिकित्सकहरुलाई हजारौँ वर्षपहिले यसका बारेमा थाहा थियो। हिन्दु र योगिक परम्पराहरुमा यसलाई अजन्ना चक्र वा तेस्रो आँखा भनिन्छ। योग र ध्यानमा जागरणले अन्तर्दृष्टि, अन्तज्र्ञान, स्पष्टता र आध्यात्मिक ज्ञान ल्याउने भनिएको छ।
यद्यपि, विज्ञानले यी आध्यात्मिक शक्तिहरुलाई अझै प्रमाणित गर्न सकेको छैन। वैज्ञानिकहरुका अनुसार यो अंग विशेषगरी निद्रा र हार्मोन नियमनजस्ता जैविक कार्यहरुका लागि जिम्मेवार छ।
यो अनुसन्धानले हामीलाई बताउँछ कि विकास सधैँ रेखीय हुँदैन। केही पुराना संरचनाहरु पूर्ण रुपमा गायब हुँदैनन्। तर, नयाँ रुपहरुमा हाम्रो शरीरमा रहन्छन्। पाइनल ग्रन्थी यसको प्रमाण हो। यसले निद्रा विकार, डिप्रेसन र हार्मोनल समस्याहरु बुझ्न मद्दत गर्न सक्छ।
हाम्रो टाउकोभित्र लुकेको पाइनल ग्रन्थी केवल एउटा साधारण ग्रन्थी होइन। यो ५० करोड वर्ष पुरानो कथाको जीवित प्रमाण हो। जब हाम्रा पुर्खाहरु एकलबीचको आँखाले अँध्यारो समुद्रमा बाँचेका थिए। आज यसले हामीलाई निदाउन मद्दत गर्छ, हाम्रो मुडलाई नियमित गर्छ, र हाम्रो शरीरको आन्तरिक घडीलाई नियन्त्रणमा राख्छ। –एजेन्सी