वानप्लस एस७ मा सक्रिय कूलिङ फ्यान हुने संकेत
May 2026
वानप्लसले आफ्नो एस ६ लाइनअपलाई विस्तार गर्दै हालै चीनमा एस ६ अल्ट्रा लन्च गरेको छ। अब अर्को पुस्ताको एस ७ सिरिजको बारेमा प्रारम्भिक विवरणहरू देखा पर्न थालेका छन् र नयाँ लीकले आगामी फोनहरूको प्रमुख स्पेसिफिकेशनहरूमा प्रकाश पारेको छ।
वेईबोमार्फत एक टिपस्टरले वानप्लस एस ७ स्न्यापड्रागन ८ एलिट जेन ५ चिपसेट द्वारा संचालित हुन सक्ने बताएको छ। टिपस्टरले वनप्लसले फोनलाई इन–बिल्ट एक्टिभ कूलिङ फ्यानको साथ परीक्षण गरिरहेको थप दाबी गरेको छ।
यदि यो विवरणहरू सही भएको खण्डमा भने एस सिरिजमा इन–बिल्ट एक्टिभ कूलिङ फ्यान पहिलो पटक समावेश गरिने भएको छ। हालसालै लन्च गरिएको एस ६ अल्ट्रा भित्र एक्टिभ कूलिङ प्रणाली एकीकृत गर्नुको सट्टा बाह्य कूलिङ एक्सेसरि समावेश गरिएको छ।
एस ६ गत वर्ष अक्टोबरमा अनावरण गरिएको हुना एस ७ लाइनअपको लन्च पनि धेरै महिना टाढा रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।